
पोखरा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ ।
केही दिनयता वर्षा हुन नसक्दा उपत्यका, तराई–मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
मौसमविद् प्रतिमा मानन्धरका अनुसार मंगलवार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको छ भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । यसैगरी, मंगलवारै दिपायलको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सिमरा, जनकपुर, बिराटनगरको अधिकतम तापक्रम भने ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।