
पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा. टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। यस्तै, पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो।
पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ ।
यस्तै, समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड अनुमान छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने जनाएको छ ।
अर्थमन्त्री गुरुङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गरे। उनले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिए।

