चरा अवलोकनको उत्कृष्ट गन्तव्य बन्दै नवलपुर, पंछी पहिचान, अवलोकन तथा दिगो पंछी पर्यटन तालिम सम्पन्न

-


     मर्दी न्युज    
     असार ११ गते २०८२ मा प्रकाशित


नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित नवलपुर चरा पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दिनानुदिन पंक्षी अवलोकन गर्नेको संख्या पनि बढ्दै गएको पाइन्छ ।

त्यसलाई नै मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतका गुन्द्रही ढाकाह, नमुना, शान्तिकुञ्ज र कृष्णसार मध्यवर्ती क्षेत्र आसपासमा कार्यरत ४० जना नेचर गाइडहरूका लागि क्षमता अघिबृद्धि गर्न तीनदिने पंंक्षी पहिचान, अवलोकन र दिगो पंक्षी पर्यटनसम्बन्धी तालिम सम्पन्न भएको छ।

पोखरा पंक्षी समाजको आयोजना, नेपाल पर्यटन बोर्डको सहयोग तथा नेचर गाइड एसोसिएसन नवलपुरको सहकार्यमा असार ८, ९ र १० गतेसम्म थारु सामुदायिक लज गदार, नवलपुरमा तालिम सञ्चालन गरिएको थियो।

तीनदिने तालिमको क्रममा नेपाल पक्षीविद् संघका अध्यक्ष एवं चराविद् हठन चौधरी, बर्ड्स नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली, पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे, सचिव हेमन्त ढकाल, हिमालयन ट्रेल्सका कार्यकारी निर्देशक गोपी श्रेष्ठ, नेपाल नेचर ट्रेक्सका कार्यकारी निर्देशक राजेन्द्र गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ, नेपाल पक्षीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्याल लगायतका अनुभवी प्रशिक्षकहरूले सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै फिल्डमा लगेर प्रयोगात्मक कक्षाहरू समेत सञ्चालन गरेका थिए।

यही असार १० गते चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तको प्रमुख आतिथ्यमा समापन भएको तालिममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरखगणका गणपति प्रमुख सेनानी शिवराम बस्न्यातको विशेष उपस्थिति रहेको थियो।

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेचर गाइड एसोसिएसन नवलपुरका अध्यक्ष लालबहादुर बोटेले कार्यक्रमको उपादेयतामाथि प्रकाश पारेका थिए ।

समाजका सचिव हेमन्त ढकालले सञ्चालन गरेको कार्यक्रममा बोल्दै नेपाल पक्षीविद् संघका कार्यकारी निर्देशक एवं वेटल्याण्ड इन्टरनेशनल एशियन वाटर बर्ड सेन्ससका नेपाल संयोजक लक्ष्मणप्रसाद पौड्याल, जटायु रेष्टुरेन्ट समितिका पिठौलीका संयोजक धनबहादुर चौधरी, नेपाल पक्षी संरक्षण संघका पूर्व अध्यक्ष राजेन्द्र गुरुङ, अमलटारी उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरे, नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत युवराज गुरुङ, डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारी र डा. गणेश पन्तले पोखरा पंक्षी समाजले गरेको यस कार्यको प्रशंसा गरेका थिए।

वक्ताहरूले यस्ता कार्यक्रमले रोजगारीका अवसरहरू सिर्जना गर्ने, स्थानीयको सीप र ज्ञानमा विकास हुने र समग्रमा संरक्षणमा टेवा पुग्ने कुरामा जोड दिए।

पछिल्ला वर्षहरूमा चरा पर्यटन (चराहरूको अवलोकन र अध्ययनका लागि गरिने यात्रा) को आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ। चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित नवलपुर चरा पर्यटनको प्रचुर सम्भावना बोकेको एक महत्त्वपूर्ण गन्तव्य हो। यस तालिमले नवलपुरलाई चरा पर्यटनको केन्द्रका रूपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।