
तस्विर: कुमुद पराजुली
पोखरा । भक्तपुर जिल्लास्थित मध्येपुर थिमीको मनोहारा फाँट क्षेत्रमा ‘साइबेरियाली राजपुत्रिका चरा’ फेला परेको छ । उक्त क्षेत्रमा चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसमेतको टोलीले चरा अवलोकनका क्रममा उक्त नयाँ चरा फेला पारेको हो ।
नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएसँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ९०२ पुगेको छ ।
नेपालका चराविद् कुमुद पराजुलीलगायतको टीमले पहिलोपटक असार ६ गते दिउँसो २ः३० बजे सो चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए ।
प्राप्त विवरणहरुको अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविद्हरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छन् । उक्त चरा समुद्र सतहबाट १३१९ मिटरको उचाइमा फेला पारेको हो ।
सो चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ भने अंग्रेजी नाम Siberian Sand Plover र वैज्ञानिक नाम Charadrius mongolus pallas हो । पहिले Tibetan र Siberian Sand Plover दुवैलाई Lesser Sand Plover को दुई उप-प्रजातिको रुपमा मानिन्थ्यो र Tibetan Sand Plover नेपालमा रेकर्ड गरिएको थियो । हाल आएर यी दुई उप–प्रजातिहरुलाई दुई छुट्टाछुट्टै प्रजातिको रुपमा राखिएको छ ।
नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार Charadriiformes वर्गको Charadriidae परिवारमा पर्ने यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रुपमा पाइन्छ भने बसाइसराइको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, अस्ट्रेलिया र न्यूजील्याण्डमा रेकर्ड भएको छ ।


