फाइभ-जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

-


     मर्दी न्युज    
     श्रावण ६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ-जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा मंगलबार आयोजित एनटिसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर-जी विस्तार व्यापाक बनाउँदै फाइभ-जी नेटवर्कको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् । 

आफू मन्त्री भएलगत्तै पटक-पटक फाइभ-जी नेटवर्क सुरु गर्न भन्दै आएको स्मरण गराउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आफूले निर्देशन दिएको एक वर्ष पुगिसक्दा पनि कार्यसम्पादन नहुनु दु:खद् विषय भएको बताए । उनले अब भने चाँडोभन्दा चाँडो नेटवर्क विस्तारमा गर्नुपर्ने बताए ।

छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु पर्याप्त नरहेको स्पष्ट पारे । उनले फोर-जी नेटवर्क हरेक जनताका घरघरमा पुर्‍याउने काम प्राथमिकतामा राख्नुपर्ने बताए । साथै, इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट वञ्चित रहने र डिजिटल सुशासन कायम गर्न चुनौती देखा पर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरुङले आग्रह गरे ।

त्यसैगरी उनले राजमार्गमा देखा पर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटिए र जनटिसीलाई ध्यानाकर्षण गराए । जहाँ जनतालाई अत्यन्त नेटवर्कको जरुरी हुन्छ, त्यहाँ सेवा विस्तारमा चनाखो हुन पनि मन्त्री गुरुङले जोड दिए ।

पर्यटन प्रवर्द्धन गर्न इन्टरनेट र टेलिफोन सुविधाको अत्यन्त जरुरी हुने उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटकीय गन्तव्यमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गरे । ‘जहाँ जनतालाई अति आवश्यक पर्छ, त्यहाँ एनटिसी पुग्नुपर्छ, उनले भने, ‘यो वर्ष फाइभ-जी लन्च छिट्टै गर्नुपर्छ ।’ 

उनले नेपाल टेलिकमको प्रचारप्रसार गतिविधि निकै कम भएको औँल्याउँदै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा प्रचार गरेर एनटिसीबारे जनतालाई सुसूचित गराउन अनुरोध गरे ।

छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटिएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने अनुरोध गरिन् । उनले सूचना प्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजनासमेत बनाउन निर्देशन दिइन् ।

एनटिएका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभ-जी नेटवर्क सञ्चालन गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए । अब केही समयमै बोलपत्र प्रक्रिया थालनी गरेर नेटवर्क विस्तार गर्ने उनले बताए । एनटिसीका निमित्त प्रबन्ध निर्देशक सविना मास्के (प्रधान)ले पनि फोर-जी विस्तार निरन्तर कार्य भइरहेको र फाइभ-जी लन्च गर्ने तयारीमा जुटेको बताइन् ।