
साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ५ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको थियो। सो दिन १९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । ११ : ३८ बजे २९९० अंकमा पुगेको नेप्से दिउँसो १ : २३ बजे २९६४ अंकसम्म झरेको थियो । उतारचढावपूर्ण बजारमा कारोबार रकम सामान्य घटेको छ ।
बिहीवारको कारोबारमा जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ । यो दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको छ । वित्त समूहको परिसूचक भने यस दिन सर्वाधिक शून्य दशमलव ७६ प्रतिशत घटेको छ । यस दिन कुल बजार पूँजीकरण ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढीले बृद्धि भई ४९ खर्ब ७७ अर्ब ४ करोड ८७ लाख रुपैयाँ कायम भएको हो । बुधवार यो रकम ४९ खर्ब ७० अर्ब ७६ करोड १४ लाख रुपैयाँ थियो ।

