
पोखरा । पोखरामा ६ दिने वाइल्डरनेस प्राथमिक उपचार, म्याप रिडिङ, पहाडी पैदल यात्रा व्यवस्थापन तथा नेभिगेसन तालिम सुरु भएको छ ।
आइतार नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशकोको संयुक्त आयोजनामा, गण्डकी अल्पाईन क्लब र काठमाडौं ईन्भाईरोलमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोगमा पोखरामा उक्त तालिमको सुरुवात भएको हो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले तालिमको उद्घाटन मन्तव्य दिंदै दक्ष जनशक्ति उत्पादन र पर्यटकलाई प्रभावकारी सेवा पुर्याउनका लागि नेपाल पर्यटन बोर्डले कार्य गरिरहेको बताए । उनले नेपाल बाह्रै महिना पर्यटकको चहलपहल भइरहने बताउँदै अलि कम व्यस्तताको समयलाई ख्याल गरेर तालिमको आयोजना गरिएको बताए । ‘बोर्डको बजेट यसपटक समयमै आएको हुँदा विभिन्न कार्यक्रमहरुको सुरुवात समयमा नै गरेका हौं’ उनले भने ।
पर्वतारोहणमा जाँदा विदेशी पर्यटक मात्र नभई नेपाली पर्यटक तथा आफ्नै साथीभाइको पनि सम्भावित दुर्घटनाबाट बचाउन तथा प्राथमिक उपचारको ज्ञान अति महत्वपूर्ण हुने हुँदा यस्ता तालिमले महत्वपूर्ण योगदान दिने बताए ।
तालिमको महत्वबारे नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका पूर्व अध्यक्ष शेषकान्त शर्माले प्रकाश पारेका थिए । संघका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव मनशान्त घिमिरेले सञ्चालन गरेका थिए ।
७ जना महिला र २६ जना पुरुष गरी ३३ जना सहभागि तालिममा डा. अभिमन्यु श्रेष्ठ, डा. राजेन्द्रमान कर्माचार्य र उदयमान सेरचन्दले सहजीकरण गरेका छन् भने तालिम आगामी शुक्रवारसम्म चल्नेछ ।

