मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, नगरप्रमुखसहित पाँच जना घाइते

-


     मर्दी न्युज    
     भाद्र १ गते २०८२ मा प्रकाशित


रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह र दुई जना प्रहरीसहित पाँच जना घाइते भएका छन् ।

जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप भएको हो । झडपमा परी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहसहित पाँच जना घाइते भएका हुन ।

झडपमा नगरप्रमुख साह, देवाहीगोनाही-९ का रामविकाश साह, सोहीटोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्धय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । उनका अनुसार घाइते नगरप्रमुखको टाउकोमा १७ वटा टाँका लगाएको छ ।

प्रहरी नायब उपरीक्षक कार्कीले हबलदार यादवको टाउकोमा पाँचवटा र हबलदार ठाकुरको टाउकोमा चार वटा टाँका लगाइएको जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाहीगोनाही-९ का अन्दाजी ३५-४० वर्षीय राधामोहन साह, अन्दाजी ३५-४० वर्षीय विनोद साह र अन्दाजी २१-२२ वर्षीय रीतिक साहलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले उल्लेख गरे । 

नगरप्रमुख साह पक्षले उनीबाट रिवन काटी मेलाको उद्घाटन गर्ने भनिरहँदा अर्को पक्षले औपचारिक उद्घाटन नगरी मेला सञ्चालन गर्ने भनेपछि विवाद भएको थियो । उक्त विवाद बढेपछि दुवै पक्षबीच झडप भएको उनले जानकारी दिए ।