नेप्से परिसूचक ३८ अंकले घट्यो, ८ अर्ब माथिको सेयर कारोबार

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०८२ मा प्रकाशित


काठमाडौँ । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार घटेको छ । नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ५३ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको थियो। सो दिन ७ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३२२ स्क्रिप्सको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँमा खरिदबिक्री भए। सेयर कारोबार रकम बुधबारको तुलनामा बढी हो।

आज पनि विकास हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुधबार पनि सोही हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।  सो कम्पनीको ६ करोड ५४ लाख मूल्य बराबरको कारोबार भयो। यसैगरी हिमालयन रिइन्स्योरेन्सले ६० करोडको सेयर कारोबार गर्दा हिमालयन डिस्टिलरीको ३५ करोड,शिवम् सिमेन्टको २२ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा २२७ वटाको घट्यो। दुई समूहको उपसूचक बढ्दा अन्य उपसमूहको सूचक नकारात्मक देखिएका छन्। म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्सको उपसूचक सामान्य बढ्दा अन्यको घटेको हो।