
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।
शांघइ सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी सँग थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो । त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।
भेटवार्तामा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीन र भारतबीच भएको सहमतिमा आपत्ति जनाएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।
ʻसन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।ʼ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले भने ।
भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने निधो गरेको पनि राईले जानकारी गराएका छन् ।

