
‘जेनजी’को आन्दोलनपछि उत्पन्न राजनीतिक अन्योललाई निकास दिन अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नयाँ सरकार प्रमुख बनाउने सहमति भएको बताइएको छ।
योसँगै नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने करिब निश्चित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देल सहितको उपस्थितिमा कार्कीसँगको छलफलपछि बिहीवार मध्यरातपछि उक्त निर्णयमा पुगेको विवरण विभिन्न समाचारहरूमा जनाइएको छ। यद्यपि सहमति भएको भनिए पनि शुक्रवार बिहान ६ बजेसम्म औपचारिक जानकारी बाहिर आइसकेको छैन।
नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाम प्रस्ताव गरेका थिए ।
प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिको सन्देश राष्ट्रपति पौडेलसम्म पुर्याएका थिए ।
तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म बसेको वार्ता निष्कर्षविहीन भएको बुझिएको छ ।

