
पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज अपराह्न एक सूचना जारी गर्दै साँझ ७ बजेदेखि कर्फ्यू लागु हुने जनाएको थियो । साँझ ७ बजेबाट शुरु भएको कर्फ्यू भोलि विहान ५ बजेसम्म जारी रहने कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको सूचनामा उल्लेख छ । कर्फ्यू पोखराका ३३ वटै वडामा लागु हुने सूचनामा जनाइएको छ ।
प्रशासनले जारी गरेको आदेशमा भनिएको छ, “कास्की जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट जिल्लामा हुन सक्ने विरोध प्रदर्शन, तोडफोड, हुलदङ्गाका कारण शान्ति सुरक्षालाई मध्यनजर गर्दै यो आदेश जारी गरिएको छ।”
कर्फ्यूको अवधिमा अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउनेछन्।
प्रशासनले भोलि वैशाख २८ गते बिहान ७:०० बजेदेखि बिहान १०:०० बजेसम्म भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने जानकारी पनि दिएको छ। यसबाट सर्वसाधारणलाई केही समयका लागि सामान्य आवतजावत गर्न सुविधा हुनेछ।


