यस्ता छन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय

-


     मर्दी न्युज    
     भाद्र ३० गते २०८२ मा प्रकाशित


सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित निर्णयहरू गरेको हो।

यस्ता छन् निर्णयहरू :

१. ‘जेनजी’ आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने 

२. असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने 

३. आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने 

४. मृत्यु भएकाहरूको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने 

५. घाइतेहरूको नि: शुल्क उपचार गर्ने 

६. शव लैजानका लागि नि: शुल्क सवारीसाधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने 

७. आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने 

८. सहादत प्राप्त गरेकाहरूको स्मरणमा ‘जेनजी’ जागरण स्मारक पार्क बनाउने 

९. अघिल्लो मन्त्रिपरिषदमा पेस भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने

कार्कीले पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमै आह्वान गरेकी थिइन् । बैठक तत्कालीन प्राथमिकतामा केन्द्रित रही नियमित प्रक्रियाका निर्णयहरु गरेर छोटो समयमै सकिएको थियो ।