
गण्डकी । जेन जेड आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदी बन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् । चार सय २५ जना कैदी बन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ ।
कतिपय कैदी बन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उनको भनाइ छ ।
प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए ।
कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदी बन्दी फर्कने क्रम जारी रहेको बताए । टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदी बन्दी र थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको उनको भनाइ छ ।
त्यसअघि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको थियो । ‘जेन जेड’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा कास्कीसहित तनहुँ, पवर्त र म्याग्दी कारागारबाट कैदी बन्दी भागेका थिए ।
कारागार व्यवस्थापन विभागले भागेका कैदी बन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरूलाई फर्काउने योजना बनाएको छ ।

