मोबाइल एपमार्फत सेवा विस्तार गर्दै पोखराका ट्याक्सी व्यवसायी

-


     मर्दी न्युज    
     असाेज ६ गते २०८२ मा प्रकाशित


पोखरा । राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी व्यवसायीले आफैँ मोबाइल एप सुरु गरेका छन् । सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन ‘मुभइन’ नामको अनलाइन एप सोमबार सार्वजनिक गरिएको हो ।

कुनैबेला पोखराका ट्याक्सी व्यवसायी तथा चालकहरु राईड सेयरिङको नाम पनि सुन्न चाहँदैनथे । गण्डकी सरकारले राईड सेयरिङलाई मान्यता दिने निर्णय गर्दा उनीहरु आन्दोलनमासमेत होमिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा ५ दिने हड्ताल भएपछि सरकार ब्याक भएपछि मात्रै आन्दोलन रोकिएको थियो ।

तर समय बदलिएसँगै हिजो राईड सेयरिङको विरोध गर्ने पोखराका ट्याक्सीहरु अब एप्सबाट चल्ने तयारीमा छन् । पोखराबाट नेपाली आईटी ईञ्जिनियरले स्वदेशी लगानीमा ‘मुभईन’ एप्स निर्माण गरेर सञ्चालनमा ल्याएपछि सोहि एप्सबाट पोखराका ट्याक्सीहरु सञ्चालनमा आउन लागेका हुन् । ‘मुभईन’ ट्याक्सी एप्स हो ।

यो राईड सेयरिङकै एप्सजस्तो भएपनि राईड सेयरिङ नै चाहिं होईन । यसमा सार्वजनिक सवारी साधनमात्र जोडिन पाउनेछन् । राईड सेयरिङकोजस्तो नीजि कार र मोटरसाईकल भने यसमा जोडिन नपाउने ‘मुभईन’नेपालका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले बताए । उनले भने,‘यो नितान्त सार्वजनिक सवारी साधन, त्यसमा पनि ट्याक्सी एप्स हो । त्यसैले यसमा ट्याक्सी मात्र जोडिएर सेवा दिन पाउँछन् ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले एप सार्वजनिक कार्यक्रममा प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्न माग गरे । उनले भने, ‘चार पाङ्ग्रे सवारीलाई मात्र यसमा समेट्नुपर्छ । यस एपमार्फत व्यवसायी प्रविधिमैत्री बन्न तयार रहेको सन्देश प्रस्ट भएको छ ।’

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एप सञ्चालनले शहरको ट्याक्सी सेवामा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार ट्याक्सी व्यवसायीलाई प्रविधिको विरोधी भनेर हेरिएको धारणा अब गलत साबित हुनेछ ।

निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एप प्रयोगमा आएपछि चोकमा उभिएर ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुने बताए । उनले भने, ‘अब ट्याक्सी चढ्नुअघि कतिमा लैजान्छौ भनेर सोधिरहनु पर्दैन ।’

हाल एपमा १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् भने पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा छन् । यसबाट यात्रुहरूले आफ्नै गेटबाट ट्याक्सी बोलाउने सुविधा पाउने विश्वास लिइएको छ ।

एपको प्राविधिक विकासमा पोखराका आइटी इन्जिनियर रविन तिवारीसहित ४५ जनाको टोलीले झन्डै एक वर्ष समय खर्चेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले एप सार्वजनिक यातायातलाई प्रविधिमैत्री र सहज बनाउन ल्याइएको बताए ।