जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन जोशी

-


     मर्दी न्युज    
     असाेज २६ गते २०८२12 मा प्रकाशित


काठमाडौँ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।

यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपिन जोशीको नाम पनि उल्लेख गरेको छ । 

शुक्रबारदेखि सुरु भएको युद्ध विरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने दिशामा छ। उक्त आक्रमणमा करिब एक हजार २०० जना मारिएका छन् भने २५१ लाई अपहरण गरिएको थियो। युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ। दुई सय ५१ जनामध्ये गाजामा अहिले ४८ जना बन्धक छन् । तीमध्ये केहीको ज्यान गएको अनुमान छ । हालै भएको हमास-इजरायल युद्ध विरामसँगै बन्धकहरू रिहा हुँदै छन् । त्यसै क्रममा नेपालको कञ्चनपुरका जोशी पनि स्वदेश फर्कने आशा बढेको छ ।

अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो । उनको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिलसमेत गरेको थियो ।

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्ध विराम योजना प्रस्ताव गरेका थिए । त्यसैअनुसार सम्झौता कार्यान्वयनको चरणमा छ । युद्ध विराम सम्झौता पूर्णरूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धक रिहा हुनेछन् ।

बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो।