
लमजुङ । मनाङमा भारी हिमपात भएसँगै तिलिचो बेस क्याम्पबाट १५ सयभन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकहरुको उद्धार गरिएको छ । तिलिचो गन्तव्य बनाएर गएका पर्यटकहरुलाई हिमपातका कारण असहज भएपछि बेसक्याम्पबाट खाङसार तथा माथिल्लो मनाङसम्म उद्धार गरिएको हो ।
मनाङका प्रमूख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार ङिस्याङ गाउँपालिका वडा नम्वर ९ का अध्यक्ष छोल्पो बहादुर गुरुङको नेतृत्वमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उद्धार भएको हो । उद्धार गरिएकामध्ये एकजनालाई स्वास्थ्य समस्या देखिएपछि सदरमुकाम चामेस्थित अस्पताल लगिएको छ ।
तिहार लगत्तै अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत थ्रोङला पास र तिलिचो गन्तव्य बनाएर आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढेको थियो । मंगलबार विहानैदेखि माथिल्लो मनाङमा भारी हिमपात भएपछि पर्यटकहरु प्रभावित भएका हुन् ।
हिमपातको प्रभावसँगै हाल मनाङमा पर्यटकहरुलाई बास बस्नको लागि पनि समस्या भएको छ । जिल्लाको माथिल्लो मनाङ, खाङसार लगायतका स्थानहरुमा पर्यटकहरुको चाप बढि हुँदा बास पाउनै मुस्किल भएको हो ।
तिलिचो बेसक्यापबाट उद्धार गरिएका आठसय बढी पर्यटकहरु मध्ये केहीलाई खाङसार, केहीलाई माथिल्लो मनाङ र आफ्नै सवारी साधन भएकाहरुलाई हुम्डे हुँदै चामेसम्म बस्नको लागि सहजिकरण गरिएको प्रजिअ पौडेलले बताए । सो बाहेक होटलमा स्थान नहुँदा एक्यापको कार्यालयमा समेत बस्न मिल्ने गरी सहजिकरण गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पर्यटकहरुको उद्धारका लागि माथिल्लो मनाङसम्म पुगेको छ । टोलीले पर्यटक व्यवस्थापनसँगै सडक सुचारुको लागि पनि सहजिकरण गरिरहेको छ ।
लमजुङ सदरमुकाम बेसीशहर हुँदै अन्नपूर्ण पदयात्रामा जाने पर्यटकहरुको संख्याको एकिन तथ्याङ्क नभएपनि दैनिक दुई हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ प्रवेश गरेका थिए । खासगरी चाडपर्व विदाको सदुपयोग गर्दै साथीभाइ वा पारिवारिक रुपमा मनाङ घुम्न जानेहरुको संख्या यसवर्ष ह्वात्तै बढेको हो । पर्यटकहरुको चापले पछिल्लो साता लमजुङदेखि मनाङसम्मका होटलहरु भरिभराउ भएका थिए । क्षमता भन्दा बढि पाहुना हुँदा व्यवस्थापनमा निकै कठिनाइ भएको होटल व्यवसायीहरुले बताएका छन् ।
खासगरी मनाङको ताल गाउँदेखि धारापानी, सदरमुकाम चामे, पिसाङ, माथिल्लो मनाङ, खाङसार हुँदै तिलिचो आधार शिविर सम्मका होटलहरु पर्यटकहरुले भरिभराउ भएका हुन् । देशका विभिन्न जिल्ला तथा शहरहरुबाट बिभिन्न क्लव, तथा संघसंस्थामा आवद्ध भएकाहरुसमेत बिदा मिलाएर भएपनि अन्नपुर्ण पदमार्गमा जाने गरेका छन् । लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ ।

