मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट विदेशी पर्यटकसहित नेपाली नागरिकहरूको सफल उद्धार

-


     मर्दी न्युज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित


मनाङमा सोमबारदेखी परेको हिमपातका कारण बेसिसहर-खाङसार सडकखण्ड अन्तर्गत मनाङ ङिस्याङ-६ मनाङगाउँमा अवरुद्ध भएको सडक सञ्चालनका लागि हिउँ पन्छाउँदै शसस्त्र प्रहरी बलको पर्वतीय उद्वार शिक्षालयको टोली । तस्बिर : नवीन लामिछाने / रासस

मुस्ताङ । हालैको अविरल हिमपातका कारण मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा फसेका विदेशी तथा नेपाली पर्यटकहरूको नेपाली सेनाको नेतृत्वमा सफल उद्धार गरिएको छ।

म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङतर्फ यात्रा गर्दै धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका तीन बेलायतीसहित १५ जना पर्यटकहरू मिति २०८२/०७/११ गतेदेखि परेको भारी हिमपातका कारण फसेका थिए।

उद्धारका लागि मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौज, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा गैरसैनिक पथप्रदर्शकहरू सम्मिलित संयुक्त टोली मिति २०८२/०७/१२ गते उक्त इलाकातर्फ प्रस्थान गरेको थियो।

उच्च हिमपात, कमजोर दृश्यता (भिजिबिलिटी) र सञ्चार कठिनाइका बीच तीन दिनसम्म निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। अन्ततः करिब ४,९०० मिटर उचाइमा रहेको बतासे डाँडामा मिति २०८२/०७/१४ गते पर्यटकहरू फेला पारिएका हुन्।

उनीहरूलाई याक खर्कसम्म सकुशल उद्धार गरी जोमसोमतर्फ ल्याइँदै गरिएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार उद्धार कार्यमा संलग्न सबै टोलीका सदस्यहरू सुरक्षित रहेका छन् र सबै पर्यटकहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।