
लुम्बिनी । लुम्बिनीमा भइरहेको तेस्रो बर्ड फेयरमा विदेशीका साथै नेपालका विभिन्न जिल्लाबाट २ सयभन्दा बढी चराप्रेमीहरु लुम्बिनीमा भेला भएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा भएको कार्यक्रममा मुलुकभरका पन्छीविद्, अनुसन्धानकर्ता र संरक्षणकर्मीलगायत भारत, भुटान, श्रीलंका, फिलिपिन्स, सिंगापुर, हङकङ, स्पेन र ताइवानबाट चरा संरक्षणमा क्रियाशील संघ÷संस्था र टुर अपरेटर लिडरहरु सहभागी भएका हुन् ।
वरिष्ठ चरा विशेषज्ञ डा. हेमसागर बरालले नेपालमा अहिलेसम्म अभिलेख भएका ९ सय ३ अभिलेख भएको बताए । अभिलेख भएका ९ सय ३ मध्ये १९ प्रजातिका चरा संकटमा परेको उनले बताए ।
डा. बरालले नेपाल विश्वका चराको संगमस्थल भएको बताउँदै चरा संरक्षणमा समुदायको योगदान भुल्न नहुने बताए । ‘बोल्न नसक्ने चराका लागि हामी ऐक्यबद्ध भएका हौं,’ उनले थपे, –’चराहरूले राजनीतिक सीमा चिन्दैन,’ उनले भने, ‘चराले बासस्थान मात्रै चिन्छन् ।’

कार्यक्रमको एसियन बर्ड फेयर तथा वर्ल्ड बर्ड फेयर काउन्सिलका कार्यकारी निर्देशक भिक्टर यूले उदघाटन गरेका थिए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयअन्तर्गत केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले बुद्ध र चराका बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा एक दशकदेखि चरा, वन्यजन्तु, पर्यापर्यटन र वातावरण क्षेत्रमा संचार क्षेत्रबाट योगदान पुर्याउँदै आएका पत्रकार मनोज पौडेल र लोगो बनाउन योगदान गरेबापत रमन श्रेष्ठ सम्मानित भएका छन् । उनीहरुलाई एसियन बर्ड फेयर तथा वर्ल्ड बर्ड फेयर काउन्सिलका कार्यकारी निर्देशक भिक्टर युले उपहार, नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेका हुन् ।
लुम्बिनीको आध्यात्मिकसँगै चरा र पर्यापर्यटनमा आकर्षण उजागर गर्ने उद्देश्यले सोमबारबाट सुरु भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट २ सय बढी चराविद्, नेचर गाइड, वाइल्डलाइफ फोटोग्राफर र संरक्षणकर्मी लुम्बिनी आएका छन् ।

