
तमु साँकृतिक प्रतिष्ठान नेपालको २५ औं बार्षिकोत्सव, स्रष्टा सम्मान एवम् विद्यार्थी पुरस्कार वितरण कार्यक्रम बुधबार, फागुन ६ गते पोखरामा भव्य तरिकाले सम्पन्न भएको छ ।
वरिष्ठ समाजसेवी, तमु धिं नेपालका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवम् परमसंरक्षक तथा प्रतिष्ठानका अक्षयकोष दाता कर्म तमुको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ५ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
“पार्वता तमु स्मृति पुरस्कार” द्वारा समाजसेवी कृष्णबहादुर तमुलाई सम्मान गरिएको छ । “घनबहादुर तमु स्मृति सम्मान” द्वारा साहित्यकार तीर्थ तमु, “क्या. मिनबहादुर तमु स्मृति सम्मान)द्वारा नृत्य निर्देशक गमबहादुर परियार (गम्भीर बर्देवा), “लालशोभा उत्कृष्ट आमा अवार्ड” द्वारा स्याङ्जाका प्रतीक्षा तमु र “उच्च शिक्षा पुरस्कार” द्वारा पृथ्वी नारायण क्याम्पस, बगरमा स्नातक तहमा अध्ययनरत रितिका तमु सम्मानित भएका छन् । उनीहरुलाई सम्मानपत्र,नगद, फेटा/क्रमु, माला तथा खादाले सम्मान गरेको थियो । कार्यक्रममा तमु धिं यु.के. द्वारा तेक्वान्दो खेलाडी रेखामाया तमु र टेनिस खेलाडी साल्दी तमुलाई नगद, प्रमाणपत्र, एवम् खादा माला लगाएर सम्मान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि तमुले सम्पूर्ण सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्दै प्रतिष्ठानले शिक्षा क्षेत्रमा यति उत्कृष्ट कार्य गरिरहेको कुरालाई समुदायले महत्त्वपूर्ण रुपमा बुझिदिएर गरिव जेहेन्दार विद्यार्थीहरुले राम्रो शिक्षा हासिल गर्न प्रेरणा प्रदान गर्न अझ धेरै जनाले थप अक्षयकोष स्थापना गरिदिन पनि आह्वान गरे । कार्यक्रममा रजत जयन्तीको अवसरमा संस्थापक कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष खेमबहादुर तमु, उपाध्यक्ष तेजबहादुर तमु, उपाध्यक्ष झम तमु, उपाध्यक्ष दुर्गाबहादुर तमु, उपाध्यक्ष चित्रबहादुर तमु, सदस्य सचिब हेमचन्द्र तमु, सचिब भेषबहादुर तमु, कोषाध्यक्ष सविता तमु, सदस्यहरु डमरबहादुर तमु, श्रीप्रसाद तमु र गणेश तमु तथा वर्तमान सल्लाहकार संयोजक एवम् पूर्व अध्यक्ष चिजकाजी तमु सम्मानित भएका छन् । यसका साथै प्रवासमा बसेर पनि सन्चार क्षेत्रमा निरन्तर योगदान पुर्याइरहनु भएका गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि सम्मान गरिएको छ । उहाँहरुलाई सम्मानपत्र, फेटा, माला र खादाले सम्मान गरिएको थियो ।
संस्थापक अध्यक्ष, सल्लाहकार एवम् राष्ट्रिय ओलम्पिक एकेडमीका अध्यक्ष तेजबहादुर तमु, सम्मानित स्रष्टा तीर्थ तमु, प्रतिष्ठान विद्यार्थी समितिका अध्यक्ष सुदिप तमु, संस्थाका द्वितीय उपाध्यक्ष ओमबहादुर तमु, सह-सचिब लोकबहादुर तमु लगायतले मन्तव्य राखेको यो कार्यक्रममा संस्थाको बर्षभरिको गतिविधि र विद्यार्थीहरुको लेख, रचना समेटिएको बुलेटिन पनि प्रकाशित गरेको छ । कार्यक्रममा गत बर्षको बुलेटिनमा संस्थाबाट छात्रवृत्ति प्राप्त सूर्योदय मा.वि., घाम्राङ, लमजुङका विद्यार्थी रेनुकाद्वारा लिखित लेख “पीडा र प्राप्ती” अध्ययन गरेर मन छोएको हुनाले “तमु (गुरुङ) समाज कतार” का पूर्व अध्यक्ष, हाल साउदीमा कार्यरत खुशीमान तमुले प्रोत्साहन स्वरुप रु २,५२५/- सहयोग गरेका छन् ।
पर्वत जिल्ला, राम्जाका जीवन तमुद्वारा स्थापित अक्षयकोष रकम रु १,२५,०००/- (अक्षरुपी एक लाख पच्चीस हजार मात्र) उहाँकि आमा तीर्थकुमारी तमुले हस्तान्तरण गरेका थिए र संस्थापक सदस्य श्रीप्रसाद तमुले पनि संस्थालाई रु ५१,००५/* (एक्काउन्न हजार पाँच मात्र) आर्थिक सहयोग गरेको यस कार्यक्रममा सम्मानित व्यक्तित्व तीर्थ तमुले सम्मान रकम र अर्को सम्मानित स्रष्टा कृष्णबहादुर तमुले सम्मान रकममा रु ५,०१०/- थपेर प्रतिष्ठानलाई आर्थिक सहयोग गरे ।
रजत जयन्तीको अवसरमा गत कात्तिक २९ मा महानगर स्तरीय निबन्ध लेखन प्रतियोगिता र पुस ४ गते पुनर्मिलन कार्यक्रम सम्पन्न गरि सकेको यो संस्थाको यस बार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा हिमाली साँस्कृतिक परिवार, चिउलीपार्चे तमु समाज, पोचोको तमु समाज, ताङतिङ दूधपोखरी तमु समाजका कलाकारहरु एवम् तमु प्रतिष्ठानका विद्यार्थीहरुले सुन्दर नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रौनक बनाएको थियो ।
संस्थाका अध्यक्ष श्रीजङ तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव कन्चन तमुले सन्चालन गरेको थियो । संस्थाको रजत जयन्तीको अवसरमा अझै केही कार्यक्रमहरु बाकी रहेको जानकारी अध्यक्ष तमुले बताए ।

