शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन: प्रधानमन्त्री कार्की

-


     मर्दी न्युज    
     फागुन ८ गते २०८२ मा प्रकाशित


पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । पोखरा विश्वविद्यालयको शुक्रबार भएको २१ औँ दीक्षान्त समारोहमा उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणमा प्रत्यक्ष जोड्नुपर्ने विचार राखेकी हुन् ।

नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन् । आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो ।

‘विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो संख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो । त्यसैले नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउनेतर्फ विद्यार्थी र विश्वविद्यालय दुवै केन्द्रित हुन आवश्यक छ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रधानमन्त्री कार्कीले दीक्षित हुनुलाई शैक्षिक यात्राको समापन नठानी जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानविन्दुका रूपमा लिन आग्रह गरिन् । उनले आर्जित ज्ञान, सीप र अनुभव मुलुकको समृद्धि र विकासमा लगाउनसमेत अनुरोध गरेकी छन् । 

विश्वविद्यालयकी कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले युवाहरू राजनेता, प्रशासक, नीति निर्माता र समाज रूपान्तरणका अभियन्तासमेत भएको उल्लेख गरिन्। 

परिवर्तनलाई आत्मसात् गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्न उनको आग्रह छ । देशभित्रै अवसर र सम्भावना पहिल्याउन विश्वविद्यालयहरूले समेत सघाउनुपर्ने विचार उनले राखिन्। 

“ठुलो सङ्ख्यामा युवाहरू विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो,” उनले भनिन्, “यसको कारण र समाधान पनि हामीले नै खोज्नुपर्छ, जसको जिम्मेवारी विश्वविद्यालयहरूको पनि हो ।”

कार्यक्रममा उनले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रियता र जिम्मेवार भई सहभागी हुनसमेत आग्रह गरिन् । “लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्धन तथा भ्रष्टाचारमुक्त समाज निर्माणका लागि यो निर्वाचन अत्यन्त महत्वपूर्ण अवसर हो,” प्रधानमन्त्री कार्कीले भनिन् । 

दीक्षान्त समारोहमा लैंगीक समानता, महिला अधिकार तथा नीति निर्माणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी चाँदनी जोशी प्रमुख अतिथि थिइन् । उनले दीक्षान्त विद्यार्थीको जीवनको ऐतिहासिक मोड भएको बताइन् । 

समारोहमा छ हजार छ सय २२ विद्यार्थी दीक्षित भएका छन् ।