निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो: गृह मन्त्रालय

-


     मर्दी न्युज    
     फागुन २० गते २०८२ मा प्रकाशित


काठमाडौँ। गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।

बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सह प्रवक्ता रमा आचार्यले जानकारी दिइन्। 

उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ ।

बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको सह प्रवक्ता आचार्यले जानकारी दिइन् । 

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिएका थिए ।