
साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा अडिएको छ।
यसअघि साताको पहिलो सेयर कारोबार दिन आइतबारदेखि मंगलबारसम्म तीन दिन नेप्से परिसूचक निरन्तर उकालो लागेको थियो। तीन कारोबार दिनपछि आज नेप्से परिसूचकले घटेको हो।
नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब माथिको कारोबार भएको हो। यसदिन ३४५ वटा कम्पनीकाे ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँमा खरिदबिक्री भए।
नेप्से दोहोरो अंकले घटेपनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ्स मिल्स,सुपर खुदी हाइड्रोपावर,सोलु हाइड्रोपावर,भुजुङ्ग हाइड्रोपावर र होटल फोरेस्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

