
पोखरा । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा निर्माण गरिएका अवैध टहरा हटाउन डोजर चलाएको छ। शनिबार बिहानदेखि महानगरले सुरक्षा निकायको उपस्थितिमा डोजर प्रयोग गर्दै ताल क्षेत्र आसपासका संरचना हटाउने अभियान सुरु गरेको हो।
महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाका अनुसार हालसम्म ३२ वटा टहरा भत्काइएको छ। ताल संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको महानगरले जनाएको छ।
फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्। नवगठित संघीय सरकारले नै फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो ।
महानगरपालिकाले फेवातालको सौन्दर्य र पर्यावरणीय सन्तुलन कायम राख्न अवैध रूपमा निर्माण गरिएका संरचनामाथि कारबाही जारी रहने जनाएको छ।


