
पोखराको फेवातालको मध्यभागमा अलपत्र परेका ११ जनालाई आज सशस्त्र प्रहरीले उद्धार गरेको छ।
आइतबार दिउँसो अचानक आएको हावाहुरीका कारण तालको बीचमा फसेका व्यक्तिहरूको अवस्था पत्ता लगाउने बित्तिकै, सशस्त्र प्रहरी बल नेपाल नं. २४, कालिका गण कास्कीको टोली फेवा रेस्क्यु टावरमा खटाइएको थियो।
सहायक निरीक्षक विशाल घर्ती मगरको नेतृत्वमा गएको टोलीले उद्धार अभियान सञ्चालन गरी सबैलाई सुरक्षित रूपमा तालबाट बाहिर ल्याएको बताइएको छ।
उद्धार गरिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका-२ का १९ वर्षीय सागर भुजेल, २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षीया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण-३ बाग्लुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमीना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर, १९ वर्षीया रिया मगर, भारतको नयाँ दिल्ली निवासी २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडब रहेका छन्।
सशस्त्र प्रहरीले सबै उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य सामान्य रहेको जानकारी दिएको छ।

