पोखरा र भैरहवाबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने सरकारको प्रतिवद्धता

-


     मर्दी न्युज    
     वैशाख १ गते २०८३ मा प्रकाशित


काठमाडौं । सरकारले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी विश्वका प्रमुख सहरबाट सिधा उडान गर्ने योजना सार्वजनिक गरेको छ ।

शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सार्वजनिक गरिएको राष्ट्रिय प्रतिवद्धता पत्रमा हवाई सुरक्षालाई सुदृढ गर्दै यी दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ ।

प्रतिवद्धता अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई छुट्टाछुट्टै स्वायत्त निकायका रुपमा विकास गरिने छ । ‘पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाएर विश्वका प्रमुख सहरसँग सिधा उडानले जोड्ने हाम्रो मुख्य लक्ष्य हो,’ प्रतिवद्धता पत्रमा उल्लेख छ ।

प्रतिनिधि सभाको निर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले २०८२ चैत १३ गते शासकीय सुधार सम्बन्धी कार्यसूची जारी गरेको थियो । सोही कार्यसूचीको बुँदा नम्बर ३ बमोजिम निर्वाचनमा सहभागी ६ वटा प्रमुख राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर यो साझा राष्ट्रिय प्रतिवद्धता तयार पारिएको हो ।