
तमु (गुरुङ) समुदायको इतिहास कुनै एक स्थल, एक घटना वा एक समयरेखामा सीमित छैन । यो इतिहास बहुपत्रीय छ— समय, भूगोल, संस्कार र आध्यात्मिक विश्वासको गहिरो अन्तर्सम्बन्धबाट बनेको एक दीर्घ यात्रा । आज ‘क्होला सोँप्रे’ व्यापक रूपमा प्राचीन थलोका रूपमा चिनिन्छ, विशेषतः सन् २००० मा पुरातात्विक उत्खनन्ले यसको पहिचानलाई उजागर गरेपछि । तर प्रश्न उठ्छ— के यसले मात्रै तमुहरूको सम्पूर्ण पूर्वइतिहासलाई प्रतिनिधित्व गर्छ? वा, हामीले यसअघि रहेका थुप्रै महत्वपूर्ण थलोहरूलाई क्रमशः बिर्सिंदै गएका छौं?
वास्तवमा, तमुहरूको ऐतिहासिक यात्रा क्होला सोँप्रेमा सुरु भएको होइन; बरु त्यहाँसम्म आइपुग्दा धेरै चरणहरू पार गरिसकेको थियो । मनाङ तथा लमजुङ क्षेत्रका ‘मैजु, एक्रेँ, थुर्चु, रब्रोँ’ जस्ता स्थलहरू केवल भौगोलिक बिन्दु होइनन्, यी तमुहरूको बसाइँसराइ, सांस्कृतिक रूपान्तरण र आध्यात्मिक चेतनाको क्रमिक विकासका साक्षी हुन् । तमु बोँ शास्त्रले पनि यही यात्रा देखाउँछ, जहाँ रब्रोँपछिको चरणमा क्होला सोँप्रे र त्यस वरपरका गाउँहरू— क्रपु क्होँगर, खुँइदो, चोँम्रो, चीक्रेँ, पोम्रो हाचु, नउदी, लेल्खु, तस ख्वोवा, ठूल् हे, तप्रो म्हीज्यु आदि बसोबासका रूपमा उल्लेखित छन् ।

तर समयसँगै स्मृतिको केन्द्र सरेको देखिन्छ । क्होला सोँप्रेको पुरातात्विक उत्खनन्ले ध्यानलाई एक बिन्दुमा केन्द्रित गरिदिँदा, यसअघि रहेका ऐतिहासिक थलोहरू ओझेलमा परेका छन् । यद्यपि क्होला सोँप्रेको उत्खनन् पूर्ण भएको पनि छैन । त्यहाँ पनि थुप्रै उत्खनन्को कार्य बाँकी रहेको छ । शास्त्रमा क्होला सोँप्रे तथा त्यस आसपासका स्थानहरूको घरधुरीसम्मको स्पष्ट उल्लेख पाइन्छ । जस्तै, क्होला सोँप्रेमा करिब ८० घरधुरी, पोम्रोँ हाचुमा करिब ३० घरधुरी । तमु बोँ शास्त्रमा क्होला सोँप्रेको घरधुरीबारे यसरी उल्लेख छ,— ‘क्होला सोँप्रेए ट्होरोँमी प्रेच्यु कुँदो च्योँमैँब ।’ यस्तै ‘पोम्रोँ हाचु, म्हीचुए ट्होरोँमी सोँच्यु कुँ च्योमैब’ अर्थात पोम्रोँ हाचु, म्हीचुमा ३० घर धुरी उल्लेख छ । अनुसन्धानले पनि यी तथ्यहरूलाई पुष्टि गरेको छ । तर विडम्बना के छ भने, ती अन्य स्थलहरूको व्यवस्थित खोज, उत्खनन् र अध्ययनतर्फ पर्याप्त ध्यान गएको देखिँदैन ।
तमु बोँ शास्त्रमा उल्लेखित स्थलहरूको श्रृंखला हेर्दा स्पष्ट हुन्छ— तमुहरू एकै ठाउँमा स्थिर बसेका थिएनन् । उनीहरू विभिन्न चरणहरू पार गर्दै, प्राकृतिक तथा सामाजिक कारणले बसाइँ सर्दै आएका थिए ।
यही यात्राका क्रममा मुस्ताङको विभिन्न ठाउँहरु जस्तैः मुछित्र च्हम्गो (हालको मुक्तिनाथ), लुप्रा, ठिनी, कलिस्योँ (कालिगण्डकीको तिर), मनाङको प्ह्राग (हालको भ्राका), ङ्हावल (ङावल), क्युरु (घ्युरु) हुँदै ‘मैजु, एक्रेँ, थुर्चु, रब्रोँ’ आदि स्थानहरू महत्वपूर्ण अन्तराल (transitional settlements) का रूपमा बसोबास गर्दै झरेको देखिन्छन् । यी स्थलहरू केवल भौगोलिक बिन्दु मात्र होइनन्; यिनले तमुहरूको जीवनशैली, विश्वास प्रणाली र सामाजिक संरचनाको विकासक्रमलाई बोकेका छन् ।

इतिहासलाई एक बिन्दुमा सीमित गर्नु सधैं जोखिमपूर्ण हुन्छ । क्होला सोँप्रेलाई अन्तिम गन्तव्य वा महत्वपूर्ण थलोका रूपमा लिनु गलत होइन । क्होला सोँप्रे निश्चय नै महत्वपूर्ण छ, तर यसलाई एकमात्र आरम्भिक केन्द्रका रूपमा व्याख्या गर्नु अपूर्ण दृष्टिकोण हो । क्रपु क्होँगर वा पोम्रो हाचुमा देखिएका ‘स्यार्बु’ सम्बन्धी विवाद, ‘पै’ अनुष्ठानको असफलता र पुनःसंरचना, वा आस्योँ च्युमीहुँइँडुका कथाहरूले तमु समाजको सामाजिक संरचना, धार्मिक अभ्यास र विश्वास प्रणालीको गहिरो तह खोलिदिएका छन् । आस्योँ च्युमीहुँइँडुले भान्जा ‘लेमको’लाई दिएको सरापले मृत्यु भएको, ‘आस्योँ क्वोँइँ’ र ‘ओली कैँ’ बिना सम्पन्न भएको ‘पै’ असफल भई पुनः विधिवत ‘पै’ गर्नुपरेको शास्त्रमा उल्लेखभएअनुसार तमु समाजको सामाजिक संरचनाको विकासक्रम, धार्मिक र सांस्कारिक अभ्यासँग जोडिएको, प्राकृतिक स्रोत र जीवनयापनसँग सम्बन्धित तथा विश्वास प्रणालीबारे धेरै कुराको उजागर गरेको छ । यसर्थ यी ठाउँहरु पनि उत्तिकै महत्वपूर्ण छ र माथि उल्लेखित ठाउँलाई पनि प्राथमिकतामा राखेर अनुसन्धान गर्नु आजको आवश्यकता हो ।
तमु समुदायलगायत विश्वलाई क्होल सोँप्रेबारे परिचित गराउनु हुने व्यक्तित्व हुन् ‘पच्यु पैंडी चिवा यारजङ गुरुङ’ । उहाँ क्होला उत्खनन्का ‘को–डाइरेक्टर’ पनि हुनुहुन्छ । उहाँले यी ठाउँका नामहरू शास्त्रमा मात्र सीमित नगरी; तमुहरूको दीर्घकालीन यात्राको नक्शा पनि प्रस्तुत गर्नुभएको छ । उहाँका अनुसार नेपालको सीमानाभित्र पर्ने ठाउँहरूको भ्रमण गरिसक्नु भएको छ । यद्यपि त्यसलाई कसैले पनि चासो दिएजस्तो लाग्दैन । यसकारण अबको पुस्ताले तमुको आदिम थलोको अनुसन्धान र उत्खनन्मा लाग्नुपर्ने देखिन्छ ।

तमु बोँ परम्परामा प्रत्येक थलोको आफ्नै आध्यात्मिक अर्थ हुन्छ । बसाइँसराइ केवल भौतिक स्थानान्तरण थिएन; त्यो विश्वास, संस्कार र ज्ञानको वहन पनि थियो । त्यसैले मैजु, एक्रेँ, थुर्चु, रब्रोँ मात्र होइन, पक्रेँ जस्ता शक्तिशाली देवतासँग सम्बन्धित स्थलहरू पनि उत्तिकै महत्वपूर्ण छन् । यस्ता स्थानहरूले तमुहरूको सांस्कृतिक आत्मालाई निरन्तरता दिएका छन् ।
यही सन्दर्भमा, अनुसन्धान र पुनःखोजको आवश्यकता अझ गहिरो रूपमा महसुस हुन्छ । क्होला सोँप्रेको पुरातात्विक उत्खनन्ले एउटा ढोका खोलेको छ । अब त्यो ढोकाबाट अघि बढ्दै अन्य सबै उल्लेखित थलोहरूको पहिचान, नक्साङ्कन, अभिलेखीकरण र सांस्कृतिक पुनर्जागरण गर्नुपर्ने बेला आएको छ । मौखिक परम्परालाई लिखित स्वरूपमा रूपान्तरण गर्दै, भौगोलिक र ऐतिहासिक अध्ययनलाई एकीकृत गर्नु आजको प्रमुख दायित्व हो ।
अन्ततः, तमुहरूको इतिहास स्थिरताको कथा होइन; यो गतिशीलताको जीवित प्रमाण हो । प्रत्येक थलो एउटा अध्याय हो, प्रत्येक बसाइँसराइ एउटा मोड । यदि हामी केवल क्होला सोँप्रेलाई सम्झन्छौं भने, हामीले यो महाकाव्यको एउटा अंश मात्र पढिरहेका हुन्छौं । तर जब हामी सम्पूर्ण यात्रा—मग ट्हो मग स्योँदेखि मुछित्र च्हम्गो हुँदै मनाङका आदिम थलोहरू र त्यसपछिका चरणहरू, जस्तै मैजु देउराली, थुर्चु, पक्रेँ, एक्रेलगायत सबैलाई समेट्छौं, तब मात्र तमु पहिचानको पूर्ण आकृति देखिन्छ ।
यसैले आजको आवश्यकता स्पष्ट छ, बिर्सिंदै गएका थलोहरूलाई पुनःस्मरण गर्नु, तिनको अध्ययन र उत्खनन् गर्नु, र भावी पुस्तालाई हस्तान्तरण गर्नु । किनकि इतिहासको कुनै पनि कडी हरायो भने, सम्पूर्ण पहिचान नै अधुरो रहन्छ ।


