
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले सेवा प्रवाहलाई सहज बनाउन एआई (कृत्रिम बुद्धिमत्ता) आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ।
कार्यालयले प्रदान गर्ने सेवा तथा आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको उक्त सेवा २४ सै घण्टा उपलब्ध रहने जनाइएको छ। कल सेन्टरमार्फत कम्पनी प्रशासन, दर्ता तथा दर्ता पश्चात्का प्रक्रियासम्बन्धी जानकारी, आवश्यक कागजात तथा कार्यालयका कर्मचारीहरूको एक्सटेन्सन नम्बरसमेत प्राप्त गर्न सकिनेछ।
कार्यालयका अनुसार सेवाग्राहीहरूले १६००००४४४४ नम्बरमा फोन गरी आफ्ना जिज्ञासा राख्न तथा आवश्यक समाधान लिन सक्नेछन्।
यस सेवा सञ्चालनले कम्पनी दर्ता तथा सम्बन्धित प्रशासनिक प्रक्रियामा सहजीकरण हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ। साथै, सेवाग्राहीलाई आवश्यक सूचना उपलब्ध गराउने प्रणालीलाई क्रमश: परिष्कृत र विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गरिएको छ।

