गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी

-


     मर्दी न्युज    
     वैशाख ८ गते २०८३ मा प्रकाशित


गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गर्दै ‘जेन-जी मुभमेन्ट’ ले प्रहरी महानिरीक्षकसमक्ष औपचारिक उजुरी दर्ता गरेको छ।

प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित उक्त उजुरी इमेलमार्फत प्रहरी मुख्यालयमा पठाइएको जनाइएको छ। निवेदनमा गृहमन्त्रीलाई हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न माग गरिएको छ।

संगठनले मन्त्री पदमा बहाल रहेको अवस्थामा अनुसन्धान प्रक्रियामा संलग्न हुनु स्वार्थको द्वन्द्व हुने भन्दै यसले प्राकृतिक न्यायको सिद्धान्तमा असर पार्ने तर्क गरेको छ। साथै पदमै रहँदा प्रमाण नष्ट हुन सक्ने तथा अनुसन्धानमा अवरोध पुग्न सक्ने जोखिम रहेको दाबी पनि गरिएको छ।

उजुरीमा जेन–जी आन्दोलनका क्रममा पानी वितरणको नाममा स्वयंसेवकको भूमिका लिई आन्दोलनलाई प्रभाव पार्ने प्रयास भएको, आन्दोलनलाई हिंसात्मक बनाउने र राज्य संयन्त्र कमजोर पार्ने गतिविधि भएको आरोप लगाइएको छ।

त्यसैगरी आन्दोलनको दुरुपयोगमार्फत आर्थिक लाभ लिएको, बिचौलिया तथा दलालहरूसँग मिलेमतो गरेको तथा ७६ जना सहिद र घाइतेप्रति अपमानजनक व्यवहार भएको दाबीसमेत उजुरीमा समावेश गरिएको छ।

उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाइएको प्रवक्ता शाहले जानकारी दिएका छन्।