विश्व मातृ पृथ्वी दिवस: दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

-


     मर्दी न्युज    
     वैशाख ९ गते २०८३ मा प्रकाशित


काठमाडौँ। दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक भएको सन्देश दिएको छ । महासागरहरू प्लास्टिकजन्य फोहरले भरिँदै गएका छन् र तीव्र रूपमा अम्लीय बन्दै गइरहेका छन् । अत्यधिक तापक्रम, डढेलो र बाढी पहिरोका घटनाले लाखौँ मानिस प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर हरेक वर्ष करिब एक करोड हेक्टर वन क्षेत्र नष्ट भइरहेको छ । वातावरण विज्ञहरूका अनुसार स्वस्थ पारिस्थितिक प्रणालीले मानिसलाई रोगबाट जोगाउन सहयोग गर्छ भने जैविक विविधताले रोग उत्पन्न गर्ने सूक्ष्म जीवहरूको तीव्र फैलावट नियन्त्रण गर्छ । हाल करिब १० लाख वनस्पति तथा जनावरका प्रजाति लोप हुने जोखिममा रहेको अनुमान गरिएको छ ।

जलवायु परिवर्तन, प्रकृतिमा मानवीय हस्तक्षेप तथा वन विनाश, भू-उपयोग परिवर्तन, अत्यधिक कृषि तथा पशुपालन र अवैध वन्यजन्तु व्यापारजस्ता गतिविधिले जैविक विविधतामा गम्भीर असर पार्दै पृथ्वीको विनाशलाई तीव्र बनाइरहेका छन् ।

यस्तो अवस्थामा सुधार गर्न पारिस्थितिक प्रणालीको पुन:स्थापना अत्यावश्यक छ ।

पारिस्थितिक प्रणाली नै पृथ्वीका सबै जीवको आधार भएकाले यसको संरक्षणले पृथ्वी र मानव जीवनलाई स्वस्थ बनाउने विश्वास गरिएको छ । बिग्रिएको पारिस्थितिक प्रणाली पुन:स्थापना गर्न सकेमा गरिबी न्यूनीकरण, जलवायु परिवर्तनको प्रभाव कम गर्न र प्रजातिको सामूहिक विनाश रोक्न सहयोग पुग्नेछ ।