कास्की प्रहरीको स्वीप अप्रेसन जारी, थप ६१ जना पक्राउ

-


     मर्दी न्युज    
     वैशाख ११ गते २०८३ मा प्रकाशित


पोखरा । कास्की प्रहरीले ‘स्वीप अप्रेसन’लाई निरन्तरता दिएको छ । कास्की जिल्लामा लागू औषध बिक्री वितरण, समाजमा अशान्ति फैलाउने गतिविधि र गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा थप ६१ जना पक्राउ परेका छन् ।

बुधबार राती १० घण्टा निरन्तर ‘स्वीप अप्रेसन’ गरी १ सय २२ जनालाई नियन्त्रणमा लिएको थियाे । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले बिहीबार राति ९ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म सञ्चालन गरेको उक्त अप्रेसनका क्रममा पोखराका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा विशेष निगरानी बढाएको थियो । जसअनुसार पोखरा महानगरपालिका वडा नम्बर २ र ४ अन्तर्गतको मोहरियाटोल र गैह्रापाटन क्षेत्रबाट १४ जना पक्राउ परेका छन् । यस्तै वडा नम्बर ६ को लेकसाइड र ड्यामसाइड क्षेत्रबाट सबैभन्दा धेरै २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा नम्बर ८ र ९ मा पर्ने बगालेटोल, सभागृह चोक, शिवालय चोक र पृथ्वीचोक क्षेत्रबाट ८ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वडा नम्बर १३ र १५ को काँहुडाँडा, काँहुखोला र रामबजार क्षेत्रबाट २ जना तथा वडा नम्बर १८ र २० को सराङकोट, लामागाउँ र भलाम क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिइएको छ । त्यसैगरी वडा नम्बर २६, २७, २९ र ३० अन्तर्गतका सुन्दरबजार, रिठेपानी, सैनिक बस्ती, खुदीखोला र साहुको खोर क्षेत्रबाट ९ जना पक्राउ परेका छन् ।

समाजमा अशान्ति फैलाउने, टोले गुण्डाका रूपमा धम्की दिने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।