
पोखरा । पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केटको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ । लामो समय बन्द रहेको यो सुपरमार्केट सोमबारदेखि पुनः खुलेसँगै पोखरेली उपभोक्ताहरूले पुनः नियमित सेवा पाउन थालेका छन् ।
भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनीमा परेर पूर्णरुपमा ध्वस्त भएको स्टोर सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो । धार्मिक विधिपुर्वक पुजाआजा गरे पछि सो स्टोर विधिवत् रुपमा संचालनमा आएको हो । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगजनीले ध्वस्त भएको भवन पुनःनिर्माण गरेर पुरानै अवस्थामा सञ्चालनमा ल्याइएको जानकारी दिए ।
गुरुङका अनुसार स्टोर सोमबारदेखि दैनिक रूपमा बिहान १० बजे खुल्नेछ र नियमित रूपमा सेवा उपलब्ध गराइनेछ । सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानू पौडेलले लामो अन्तरालपछि स्टोर सञ्चालनमा ल्याउन पाउँदा उत्साहित रहेको बताइन् ।
आगमी दिनमा पनि ग्राहकहरूलाई सहज, सुरक्षित र गुणस्तरीय किनमेल अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आधुनिक पूर्वाधार, व्यवस्थित सपिङ वातावरण र विविध उपभोग्य सामग्री उपलब्ध गराउँदै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिने जानकारी दिए ।
यसअघि कोटेश्वर, महाराजगन्ज र चितवनस्थित स्टोर पनि पुनः सञ्चालनमा ल्याइएको थियो । भदौ २४ मा भएको आगजनीका क्रममा भाटभटेनीका दर्जन बढी स्टोरमा आगजनी र लुटपाट गरिएको थियो ।

