
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा पूँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्ने घोषणा गरेपनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएन। साताको दोस्रो कारोबार दिन मंगलबार बजार खुलेदेखि नै उचारचढावमा रहेको नेप्से परिसूचक अन्तिम समयमा आएर ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेको छ।
सरकारको नीति तथा कार्यक्रमले धितोपत्र बजारलाई “सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप” विकास गर्ने प्रतिबद्धता जनाएको छ। साथै आगामी दशकभित्र ३० हजार मेगावाट विदयुत उत्पादन लक्ष्यसहित आयोजना प्रभावित क्षेत्रका नागरिकहरूलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प दिने योजना अघि सारेको छ। यद्दपि सरकारका घोषणाप्रति लगानीकर्ताहरू पूर्णरुपमा विश्वस्त हुन सकेका छैनन्।
मंगलबार कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १५ अङ्कले ओरालो लागेर ४६९ दशमलव २६ मा सीमित भएको छ । कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता सेयर रु चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा छ । नेप्सेका अनुसार, धौलागिरि लघुवित्त वित्तीय संस्था, एसबिएल डिबेन्चर, एनआइबिएल समृद्धि फन्ड दोस्रो, एनआइसी एसिया डिबेन्चर र नेपाल एसआइबी बैंक डिबेन्चरका लगानीकर्ताले कमाए ।
यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होट फरेस्ट इनका लगानीकर्ताले भने गुमाएका छन् ।
कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको उकालो लाग्दा २५१ कम्पनीको ओरालो लागेको छ । यस्तै, पाँच कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

