
कास्की । सवारी दुर्घटना न्यूनीकरण र प्रहरी कार्यशैलीमा सुधार ल्याउने उद्देश्यसहित कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ हेमजा क्षेत्रमा विशेष आकस्मिक सवारी जाँच (सरप्राइज चेकिङ) सञ्चालन गरेको छ ।
उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्की स्वयं नेतृत्वमा सडकमा खटिएका थिए । प्रहरी उपरीक्षक कार्कीको नेतृत्वमा गरिएको जाँचमा प्रहरी नायव उपरीक्षकहरू हरिबहादुर बस्नेत, गुणराज बुढाथोकी र नमराज भट्टराईसहित जिल्लाका विभिन्न इकाइका प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।
जाँचका क्रममा वरिष्ठ प्रहरी अधिकृतहरूले आफैँ सवारी साधन रोक्दै चालक तथा यात्रुसँग सोधपुछ गरेका थिए भने सवारीको अवस्थासमेत निरीक्षण गरिएको थियो ।
यस अभ्यासले कनिष्ठ प्रहरी कर्मचारीलाई सवारी जाँच गर्ने सही प्रक्रिया, चालक-यात्रुसँग व्यवहार गर्ने तरिका तथा समग्र कार्यसम्पादन सुधारमा व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्य राखिएको प्रहरी प्रमुख कार्कीले बताएका छन् । चेकिङ अवधिभर अन्य सुरक्षाकर्मीहरूले सम्पूर्ण गतिविधिको अनुगमन गरेका थिए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने हेमजा खण्डलाई पछिल्लो समय अत्यधिक गतिका कारण दुर्घटनाको जोखिमयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ । सोही जोखिमलाई ध्यानमा राख्दै सडक सुरक्षा मजबुत बनाउन तथा ट्राफिक नियम पालना सुनिश्चित गर्न आकस्मिक जाँच गरिएको कास्की प्रहरीले जनाएको छ ।

