चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड

-


     मर्दी न्युज    
     जेठ २३ गते २०८३ मा प्रकाशित


कञ्चनपुर । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवद्र्धन गर्नु रहेकोे छ । निकुञ्जभित्र पाइने दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गराउँदै संरक्षण र पर्यटनबीचको सम्बन्धबारे सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताको अनुपम धरोहर भएको बताए । उनले चरा पर्यटनले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउने उल्लेख गर्दै प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्ज क्षेत्रमा ४६० भन्दाबढी प्रजातिका चरा अभिलेख गरिएको जानकारी दिए । उनका अनुसार विशेषगरी शिकारी ताल क्षेत्र चराको महत्वपूर्ण बासस्थानका रूपमा परिचित रहेको छ । उक्त क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको जानकारी दिँदै उनले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण अहिलेको मुख्य चुनौती रहेको बताए ।

“सिमसार क्षेत्र जोगाउन सके मात्रै जलचर तथा प्रवासी चराको बासस्थान सुरक्षित रहन्छ,” प्रमुख संरक्षण अधिकृत चौधरीले भने, “चरा संरक्षण र पर्यावरणीय सन्तुलनका लागि तालतलैयाको संरक्षण अपरिहार्य छ ।”

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले चरा पर्यटन प्रकृतिमा आधारित दिगो पर्यटनको महत्वपूर्ण आधार बन्दै गएको बताए । उनले वन, वन्यजन्तु र चराको संरक्षणबाट पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने उल्लेख गर्दै संरक्षणका गतिविधिमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको धारणा राखे ।

चराविद् हिरुलाल डगौराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यमध्ये एक भएको बताए । उनले यहाँ पाइने दुर्लभ, सङ्कटापन्न तथा प्रवासी चराले अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेको उल्लेख गरे ।

“चरा हेर्नकै लागि विदेशी पर्यटक विभिन्न देशबाट नेपाल आउने गरेका छन्,” उनले भने, शुक्लाफाँटाको उचित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके चरा पर्यटनले स्थानीय समुदायको आयआर्जन बढाउन भूमिका खेल्छ ।”

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संरक्षणकर्मी, पर्यटन व्यवसायी तथा प्रकृतिप्रेमीको सहभागिता रहेको थियो । सहभागीले निकुञ्ज क्षेत्रभित्र रहेका विभिन्न प्रजातिका चराको अवलोकन गर्नुका साथै तिनको संरक्षण र पर्यटन विकासका सम्भावनाबारे छलफल गरेका हुन् ।