काँडे भ्याकुरः मधेश प्रदेशमा पहिलो पटक अभिलेख

-


     मर्दी न्युज    
     जेठ २४ गते २०८३ मा प्रकाशित


तस्विरः आंशिष पन्त

बारा, २४ जेठ । नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर मधेश प्रदेशमा पहिलो पटक अभिलेख गरिएको छ। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दूधौरा खोलानजिकको चुरे वन क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चराको अभिलेख गरिएको हो।

नेपाल पक्षीविद संघ र मिथिला वाइल्डलाइफ ट्रस्टको संयुक्त सहकार्यमा मधेश प्रदेशका आठ जिल्लामा सञ्चालन भइरहेको चरा सर्वेक्षणका क्रममा २०८३ जेठ २१ गते बिहान उक्त प्रजाति समुन्द्री सतह देखि ४४३ मिटरमा फेला परेको हो। यो अभिलेख हाल सम्मकै होंचो भूभागमा भेटिएको पुष्टि भएको छ ।

चराविद हठन चौधरी र सुरज बरालले अवलोकन गरेको यस चरालाई वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसका विद्यार्थीहरू आंशिष पन्त, सुमी सिंह ठकुरी र निश्चल पोखरेलले समेत अबलोकन गरी फोटो समेत खिचेका थिए।

काँडे भ्याकुर फेला परेको क्षेत्र चुरे पर्वत शृङ्खला अन्तर्गत पर्ने मिश्रित वन क्षेत्र हो, जहाँ खयर, सिसौ, झाडी तथा घाँसे मैदानको मिश्रित बासस्थान पाइन्छ। यो क्षेत्र जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ र विभिन्न पक्षी तथा वन्यजन्तुहरूको आश्रयस्थलका रूपमा परिचित छ।

बारा जिल्लामा गरिएको यस अभिलेखसँगै नेपालका सातै प्रदेशमा काँडे भ्याकुरको उपस्थितिको पुष्टि भएको छ, जसले यसको भौगोलिक वितरणबारे नयाँ जानकारी प्रदान गरेको छ।

सन् १८३६ मा ब्रायन हड्सनले यस प्रजातिको वैज्ञानिक विवरण प्रस्तुत गरेका थिए। नेपालका चुरे तथा मध्यपहाडी क्षेत्रका सुक्खा झाडी र खुला वन क्षेत्रमा बसोबास गर्ने यो चरा संरक्षण तथा अनुसन्धानका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।

नेपाल पक्षीविद् संघ र मिथिला वाइल्डलाइफ ट्रस्टले मधेश प्रदेशको पक्षी विविधता अभिलेखीकरण तथा संरक्षणका लागि संयुक्त रूपमा सञ्चालन गरिरहेको सर्वेक्षणले प्रदेशको जैविक सम्पदाबारे महत्वपूर्ण तथ्यहरू उजागर गरिरहेको छ।