गण्डकी प्रदेश सरकारको बजेट आज

-


     मर्दी न्युज    
     असार १ गते २०८३ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट सार्वजनिक गर्दैछ । आज साँझ ४:०० बजे बस्ने बैठकमा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ ।

आर्थिक मामिला मन्त्रालयले राजस्व संकलनमा आएको गिरावट र अर्थतन्त्रका सूचकमा देखिएको दबाबका कारण यसपटक बजेटको आकार घटाएर ल्याउने भनिए पनि चालु आवकै हाराहारीमा बजेट आउने अर्थकै अधिकारीहरुले बताएका छन् ।

प्रदेश नीति तथा योजना आयोगले आगामी वर्षका लागि २८ अर्ब ७० करोड ५६ लाख ९६ हजार रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको छ । यो अघिल्लो वर्षको तुलनामा निकै कम हो । २०८१/८२ मा झन्डै ३३ अर्ब रुपैयाँको बजेट आएकामा यसपटक करिब ४ अर्ब रुपैयाँ सिलिङ घटाइएको छ । प्रदेश सभाको कार्यकाल अझै डेढ वर्ष रहे पनि त्यस अगावै चुनाव हुने चर्चासँगै अहिलेको बजेटलाई यो कार्यकालको अन्तिम बजेटका रुपमा लिइएको छ । त्यसैकारण पनि मन्त्री र प्रदेश सभा सदस्यहरु बजेटको अंक घटाउन नहुने अडानमा छन् । यस आवमा पनि ३३ अर्बकै हाराहारीमा बजेट आउने अधिकारीहरुले बताएका छन् ।