
त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो । त्यसपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।
आगो लगाएपछि घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो ।अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

