
देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
बाढी र पहिरोले सडक बगाउने र बाटो अवरुद्ध बढेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् । सडक विभाग र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो राजमार्ग ठप्प भएका छन् ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा सडकमा यातायात एकतर्फी सञ्चालनमा छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ।
बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने बिपी राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ ललितपुरदेखि हेटौँडा असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
गण्डकी प्रदेशको कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ।
लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पहिरोले सडक अवरोध पुर्याएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन् ।
गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा यातायात एकतर्फी सञ्चालनमा छ ।

