
देशका विभिन्न स्थानमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आठ वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार हुलाकी राजमार्ग भने अवरोध हटाइ पुनः सञ्चालनमा ल्याइएको छ।
प्रहरीका अनुसार पर्साको ठोरी गाउँपालिका-२ अन्तर्गत हुलाकी राजमार्गमा पर्ने ढेडुखोला तथा आसपासका खहरे खोलामा आएको बाढीका कारण अवरुद्ध सडक दिउँसोदेखि सञ्चालनमा आएको हो।
तर अन्य प्रमुख सडक खण्डमा भने आवागमन प्रभावित रहेको छ। काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्पूर्ण सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।
त्यस्तै, ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्तिलोकपथमा पाङदुर, टाकुर्चे र भालु खोलानजिक पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवाली खण्ड पनि प्रभावित भएको छ। वर्षाका कारण सडक हिलाम्मे भई सवारी सञ्चालन हुन नसकेको जनाइएको छ। उक्त क्षेत्रमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।
यसैगरी कास्कीको मादी गाउँपालिका-२ ज्याम्दोस्थित पोखरा-ताङतिङ भित्री सडकमा ग्याबिन पर्खाल भत्किएपछि सडक पूर्णरूपमा बन्द भएको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ ढुंगेखोलामा माथिबाट ढंग खसेपछि सालझन्डी-ढोरपाटन सडक खण्ड अवरुद्ध भएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाटस्थित कालीगण्डकी कोरिडोर पनि पातुखोलाको बहाव बढेपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, कास्कीको मादी गाउँपालिका-४ भैँसेस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडक खण्डमा ओख्रेभिरबाट आएको लेदो, पहिरो र खोलाको पानी सडकमा थुप्रिएपछि यातायात प्रभावित भएको छ।
गुल्मीको मुसिकोट नगरपालिका-५ तल्लो फाँटस्थित रिडी-वामी सडक खण्ड समेत ठाँडो गिरु खोलाको बहाव बढेर सडक कटान भएपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षाका कारण अवरुद्ध भएका सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

