अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

-


     मर्दी न्युज    
     श्रावण ४ गते २०८३ मा प्रकाशित


अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा आइतबार भएको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

स्पेनलाई दोस्रोपटक विश्वकपको उपाधि दिलाउन फेरान टोरेसले निर्णायक गोल गरे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समयको इन्जुरी समयमा एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै टोरेसले खेलको १०६औँ मिनेटमा गोल गरी स्पेनलाई अग्रता दिलाए ।

बाँकी समयमा अर्जेन्टिनाले बराबरी गोल फर्काउन नसकेपछि टोरेसको त्यही गोल स्पेनलाई विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।

स्पेनले यसअघि सन् २०१० मा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिना भने उपविजेतामा सीमित हुँदै लगातार दोस्रोपटक विश्वकप जित्ने अवसरबाट वञ्चित भएको छ ।