राङभाङ–भैँसेगौंडा : जैविक सम्पदाले उज्यालिएको पर्यापर्यटनको नयाँ गन्तव्य

-


     मर्दी न्युज    
     श्रावण १० गते २०८३ मा प्रकाशित


स्याङ्जाको पहाडी भूभागमा अवस्थित राङभाङ–भैँसेगौंडा बिहानको पहिलो घामसँगै चराको मधुर स्वरले ब्युँझिन्छ । वनका छायाँमा पुतलीहरू फर्फराउँछन्, घना जङ्गलभित्र चितुवा, चरी बाघ र दुम्सीजस्ता वन्यजन्तु आफ्नै संसारमा रमाइरहेका हुन्छन् । विविध वनस्पति, स्वच्छ वातावरण र प्राकृतिक सौन्दर्यले भरिएको यो गाउँ अब केवल सुन्दर बस्ती मात्र होइन, नेपालको जैविक विविधता संरक्षण र पर्यापर्यटन विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन थालेको छ ।

यसै सम्भावनालाई उजागर गर्दै हालै राङभाङ–भैँसेगौंडा बायोडाइभर्सिटी प्रोफाइल सार्वजनिक गरिएको छ । प्रकृतिका साथीहरू र मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेको सहकार्यमा प्रकाशित यो पुस्तकले गाउँको प्राकृतिक सम्पदालाई पहिलो पटक व्यवस्थित रूपमा अभिलेखीकरण गरेको छ । पुस्तकले संरक्षणका लागि वैज्ञानिक आधार मात्र तयार गरेको छैन, गाउँको दिगो पर्यटन विकासका लागि पनि नयाँ ढोका खोलेको छ ।

एउटा गाउँ, असाधारण जैविक सम्पदा

अध्ययनले राङभाङ–भैँसेगौंडाको जैविक समृद्धिको वास्तविक तस्वीर प्रस्तुत गरेको छ । यहाँ नेपालमा मात्र पाइने काँडे भ्याकुर लगाएत २२९ प्रजातिका चरा अभिलेख भएका छन् । विश्वव्यापी रूपमा संकटमा रहेका ६ प्रजाति आईयूसीएनको अति संकटापन्न, दुई प्रजाती संकटापन्न र एक प्रजाती संकटासन्न श्रेणीमा सूचीकृत छन् । त्यसैगरि १७ प्रजातिहरु राष्ट्रिय स्तरमा संकटग्रस्त श्रेणीमा पर्दछन् । ६६ प्रजातिहरु बायोम-प्रतिबन्धित चराहरू अभिलेख भएका छन्, त्यसैगरी ३२ प्रजाति साईटिसका विभिन्न परिशिष्टहरूमा सूचीकृत छन् ।

अभिलेख अनुसार १२६ प्रजातिका पुतली भेटिएका छन् । तीमध्ये निम्फालिडी परिवारका सबैभन्दा बढी ५९ प्रजाति भेटिएका छन् । त्यसपछि क्रमशः लाइकेनिडीका २१ प्रजाति, पिएरिडीका १७ प्रजाति, हेस्पेरिडीका १४ प्रजाति, पापिलियोनिडीका ११ प्रजाति तथा रिओडिनिडीका ४ प्रजाति अभिलेख गरिएको छ। तीमध्ये साईटिस परिशिष्ट–II मा सूचीकृत संरक्षित प्रजाति कमन बर्डविङ पनि भेटिएको छ ।

२६ प्रजातिका स्तनधारी वन्यजन्तुको अभिलेख हुँदा विश्वव्यापी संकटको तुलनामा राष्ट्रिय स्तरमा संकटग्रस्त जीवहरूमा बढी देखिएको छ । राष्ट्रिय स्तरमा संकटग्रस्त अनुसार सोर्वाको मुसाकाने चमेरा अति संकटापन्न, संकटासन्नमा चार प्रजातीका र एक प्रजाती संकटग्रस्त श्रेणीमा सूचीकृत छन् ।

अध्ययन क्षेत्रमा नेपालमा मात्र पाइने तथा आईयूसीएनको रातो सूचीमा संकटासन्न श्रेणीमा सूचीकृत उभयचर महाभारत टोरेन्ट फ्रग सहित २३ प्रजातिका सरीसृप तथा उभयचर अभिलेख गरिएको छ । तीमध्ये सर्पहरूको विविधता सबैभन्दा बढी देखिएको छ। आईयूसीएनको ‘तथ्य अपर्याप्त’ श्रेणीको कन्केभ–क्राउन्ड हर्न्ड टोड समेत रहेको छ । सरीसृपतर्फ चेन्जेबल लिजार्ड तथा सिक्किम ग्राउन्ड स्किङ्क जस्ता प्रजातिहरूको उपस्थिति रहेको छ ।

यस क्षेत्रमा गरिएको विस्तृत वनस्पति सर्वेक्षणबाट २७९ प्रजातिका वनस्पति अभिलेख भएका छन् । संरक्षण अवस्थाका दृष्टिले अधिकांश प्रजातिहरू आईयूसीएनको रातो सूचीमा नभएता पनि धेरै वनस्पतिहरू औषधीय, सांस्कृतिक तथा परम्परागत उपयोगका दृष्टिले अत्यन्त महत्त्वपूर्ण छन् । शतावरी, टाटेलो, हर्रो बहुमूल्य औषधीय वनस्पतिका रूपमा परिचित छन् । त्यसैगरी असुरो, लप्सी तथा साल स्थानीय समुदायको जीवनशैली, परम्परागत उपचार प्रणाली तथा जीविकोपार्जनसँग घनिष्ठ रूपमा जोडिएका महत्त्वका वनस्पति हुन् । बनमारा, क्रोमोलेना, ब्ल्याकज्याक र गन्धेझार जस्ता मिचाहा वनस्पतिहरूको फैलावटले स्थानीय रैथाने वनस्पतिमाथि बढ्दो पारिस्थितिक दबाब सिर्जना गरिरहेको देखिन्छ ।

समग्रमा यस प्रकारको उपस्थितिले यस क्षेत्रको पारिस्थितिकीय महत्व झनै बढाएको छ । यी तथ्याङ्कले राङभाङ–भैँसेगौंडा केवल पर्यटकका लागि रमणीय गन्तव्य मात्र नभई अनुसन्धानकर्ता, प्रकृतिप्रेमी तथा वन्यजन्तु अवलोकनकर्ताका लागि पनि आकर्षक क्षेत्र रहेको पुष्टि गर्छ ।

संरक्षणबाट समृद्धिको यात्रातर्फ

प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यका अनुसार अध्ययनको उद्देश्य जैविक विविधताको सूची तयार गर्नु मात्र थिएन । गाउँको प्राकृतिक सम्पदालाई संरक्षण गर्दै त्यसलाई स्थानीय आर्थिक विकाससँग जोड्ने दीर्घकालीन सोच यस अध्ययनको मूल आधार हो ।

उनका अनुसार, हाम्रो भैँसेगौंडाको बसाई बिशेष गरेर तालिमका समयमा भएकोले अध्ययन पनि सोहि समयमा सम्पन्न भएकाले अन्य ऋतुमा अध्ययन गर्दा धेरै प्रजाति अभिलेख हुन सक्ने सम्भावना छ । यसले राङभाङ–भैँसेगौंडाको जैविक महत्व अझ व्यापक हुन सक्ने संकेत गर्छ ।

जैविक विविधता संरक्षणलाई स्थानीय विकाससँग जोड्ने प्रयास पनि गाउँमा निरन्तर भइरहेको छ । सामुदायिक वनभित्र वन्यजन्तुका लागि पानीका पोखरी निर्माण गर्ने योजना अघि बढाइएको छ भने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन् । संरक्षण अब केवल वातावरणको विषय होइन, स्थानीय जीवनशैली र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको अभियान बनेको छ ।

लाटोकोसेरोदेखि पर्यापर्यटनसम्म

राङभाङ–भैँसेगौंडाले संरक्षणको यात्रा धेरैअघि नै सुरु गरिसकेको थियो । विसं २०७५ मा यहाँ आयोजना गरिएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव त्यसको एउटा महत्वपूर्ण उदाहरण हो । स्थानीय समुदाय र प्रकृतिका साथीहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले लाटोकोसेरो संरक्षणसँगै समग्र जैविक विविधताप्रति जनचेतना अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको थियो । त्यसयता संरक्षणका गतिविधि गाउँको पहिचान बन्दै गएका छन् । यही पहिचानले अहिले पर्यापर्यटनको नयाँ सम्भावना सिर्जना गरिरहेको छ ।

प्रकृतिसँग जोडिएको होमस्टे अनुभव

मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टे आज गाउँको अर्को सफल कथा बनेको छ । पाँच घरबाट सुरु भएको होमस्टे अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । होमस्टेका सञ्चालक बालकुमार गुरुङका अनुसार यहाँ आउने पर्यटक केवल बस्नका लागि होइन, प्रकृतिसँग समय बिताउन, चराचुरुङ्गी अवलोकन गर्न, स्थानीय संस्कृति अनुभव गर्न र गाउँको शान्त वातावरण महसुस गर्न आउँछन् ।  

वालकुमार सम्झन्छन्, वि. सं. २०७४ को अन्त्य तिरको रोयल दिदी बहिनि किचनको एक साँझको राजु आचार्य सँगको बैठक जसको चाँजोपाँजो मिलाएका थिए मनशान्त घिमिरेले । त्यही सुखद भेटघाट भैँसेगौंडा सामुदायिक होमस्टेलाई यस मोडमा ल्याईपुर्यायो । हाल गाउँमा वर्षमा दुई पटक सञ्चालन हुने वन्यजन्तु अनुसन्धान विधिसम्बन्धी १९ दिने तालिमले पनि यस क्षेत्रलाई अनुसन्धान तथा प्रकृति शिक्षाको केन्द्रका रूपमा विकास गरिरहेको छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने तालिम तथा कार्यक्रमले स्थानीय युवामा संरक्षणप्रतिको रुचि बढाउनुका साथै रोजगारीका अवसर पनि सिर्जना गरिरहेका छन् ।

स्थानीय सरकारको साथ

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले जैविक विविधताको वैज्ञानिक अभिलेख संरक्षणको आधारशिला भएको बताए । उनका अनुसार कुनै पनि क्षेत्रको जैविक सम्पदा पहिचान भएपछि त्यसको संरक्षणका लागि प्रभावकारी योजना बनाउन सहज हुन्छ । नगरपालिकाले संरक्षण र पर्यापर्यटन विकासका कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको उनले उल्लेख गरे । हालैको आर्थिक वर्षमा समेत यस कार्यलाई निरन्तरता दिदै विशेष रकम नै छुट्टयाइएको प्रस्ट समेत गराउनु भयो ।

सामूहिक प्रयासको परिणाम

‘राङभाङ–भैँसेगौंडा बायोडाइभर्सिटी प्रोफाइल’ कुनै एक व्यक्तिको काम होइन । चरा, वन्यजन्तु, पुतली, चमेरा र वनस्पति अनुसन्धानमा संलग्न विज्ञ तथा अनुसन्धानकर्ताको सामूहिक मेहनतले यो सम्भव भएको हो । कुल चौध जना संरक्षणकर्मीहरू राजु आचार्य, यादवप्रसाद घिमिरे, विकास घिमिरे, सुमन सापकोटा, सुरेन्द्र परियार, सोम जिसी, कृष्णप्रसाद भुसाल, ऋषि बराल, विनय घिमिरे, किरण पन्थी, संगम पौडेल, वर्षा अधिकारी, बालकुमार गुरुङ र करणबहादुर शाहको मेहेनतको प्रतिफल हो ।

भविष्यतर्फको सन्देश

राङभाङ–भैँसेगौंडाको कथा एउटा गाउँको मात्र कथा होइन । यो स्थानीय समुदाय, अनुसन्धानकर्ता, संरक्षणकर्मी र स्थानीय सरकारबीचको सहकार्यले कसरी प्राकृतिक सम्पदालाई विकासको आधार बनाउन सक्छ भन्ने प्रेरणादायी उदाहरण हो ।

नेपालका धेरै गाउँहरू अझै आफ्ना जैविक सम्पदाबाट अपरिचित छन् । तर राङभाङ–भैँसेगौंडाले देखाएको बाटोले एउटा स्पष्ट सन्देश दिन्छ: ‘प्रकृतिको संरक्षण केवल वन र वन्यजन्तुलाई जोगाउने अभियान मात्र होइन, त्यो स्थानीय अर्थतन्त्र, संस्कृति र भावी पुस्ताको भविष्य सुरक्षित गर्ने दिगो विकासको मार्ग पनि हो’ ।

राङभाङ–भैँसेगौंडाको यो जैविक सम्पदाको दस्तावेज अब पुस्तकका पानामा मात्र सीमित रहने छैन । यसले प्रकृति संरक्षण, वैज्ञानिक अनुसन्धान र पर्यापर्यटनको माध्यमबाट गाउँको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास जगाएको छ ।



Tags: , , , , , ,