
जल तथा मौसम विज्ञान विभागले बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आइतबार राति भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। विभागले वर्षासँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार दिउँसो सबैभन्दा धेरै वर्षा सुनसरीको चतरामा मापन गरिएको छ, जहाँ २७.८ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।
महाशाखाको पूर्वानुमान अनुसार सोमबार देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मंगलबार पनि देशका पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
विभागले वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले मौसमको अद्यावधिक जानकारी अनुसरण गर्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

