निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली व्यक्त

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०८३ मा प्रकाशित


प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पाकिस्तानको ‘ब्रोड पिक’ हिमपहिरोमा ज्यान गुमाउने आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ मा विश्व कीर्तिमान धारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित १० जना आरोहीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

शनिबार फेसबुकमार्फत प्रधानमन्त्री बालेनले मृत्युले आरोहीको भौतिक यात्रा मात्रै रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने बताएका छन् ।

‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो,’ प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।’ तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनले बताएका छन् ।

‘विश्वको १२ औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत-शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित  आरोहीहरूको दु:खद निधनले स्तब्ध बनाएको छ,’ उनले लेखेका छन् ।

पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’ आरोहणका क्रममा ६ जना नेपाली र ४ जना विदेशी गरी १० जना आरोहीको निधन भएको हो।