पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको भाउ यथावत्

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ।

निगमले पेट्रोल प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेल ५ रूपैयाँ वृद्धि गरेको छ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाइ, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा बढेर आएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा  प्रतिलिटर २०० रुपैयाँ पुगेको छ।

सुर्खेत र दाङमा १९९ रूपैयाँ कायम भएको छ।

त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

यसअघि पेट्रोल प्रतिलिटर १९७ र डिजेल/मट्टितेल प्रतिलिटर १९५ रहेको थियो।