मर्दी हिमाल पदयात्रामा गएर बेपत्ता भएका तीन युवाको उद्धार

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०८३ मा प्रकाशित


पोखरा । कास्कीको मर्दी हिमाल पदयात्रामा गएर तीन दिनदेखि बेपत्ता भएका तीन जना युवा मोदी खोलाको किनारमा सकुशल फेला परेका छन् ।

पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ और २३ वर्षका दिपेश गुरुङलाई अन्नपूर्ण गाउँपालिका ११ को छाेमरुङ फेदीस्थित मोदी खोलापारि फेला पारिएको हो । उनीहरुलाई सुरक्षित स्थानमा ल्याउनका लागि सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको थिए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तीन जनालाई सकुशल उद्धार गरी पोखरा ल्याउन लागिएको बताए । ‘उहाँहरुको उद्धार भएको छ, अब पोखरा ल्याएर स्वास्थ्य जाँच गरी परिवारको जिम्मा लगाउँछौँ, बरालले भने ।

गएको १९ साउनमा मर्दी हिमाल ट्रेकिङका लागि निस्किएका उनीहरु माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडाको जंगलमा अलपत्र परेका थिए । २० साउनको बिहान ८ बजेसम्म सम्पर्कमा रहेका ती युवाहरु त्यसपछि सम्पर्कविहीन भएका थिए । उनीहरु हराएको सूचना पाएपछि बादलडाँडामा होटल सञ्चालन गर्ने प्रेम अधिकारीको नेतृत्वमा ४ जनाको टोली खोजीका लागि खटिएको थियो ।

हराएका युवाहरुको खोजी गर्ने क्रममा मोदी खोलापारि देखेका थिए । युवाहरु फेला परेको जानकारी आएपछि घान्द्रुक र बगरबाट प्रहरी टोली तथा सशस्त्र प्रहरीको कालिका गणबाट १० जनाको टोली घटनास्थल पुगेको थियो । खोलामा पानीको बहाव निकै ठूलो भएकाले राति अबेरसम्म प्रयास गर्दा पनि उनीहरुलाई वारी ल्याउन सकिएन ।

युवाहरु अलपत्र परेको क्षेत्र पोखरा महानगरबाट ७० किलोमिटर उत्तरमा पर्छ । उद्धारका लागि बुधबार बिहानैबाट टोली खटिए पनि प्रयास सार्थक भएको थिएन । मोदीमा फड्के बनाउने, एस्काभेटरबाट ल्याउने लगाएका प्रयास भएका थिए ।

नेपाली प्रहरीका दुई जना, सशस्त्र प्रहरीका नौ जना र नेपाली सेनाका छ जना गरी १७ जनाको टोली उद्धारमा खटिएको थियो । टोलीले हाइड्रो पावरका लागि टाँगिएको तारबाट खोला पारी गई युवाहरुलाई डोरीको सहायताले उद्धार गरेको हो ।