
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को पार्थिव शरीर नेपाल ल्याइएको छ।
साउन १४ गते भएको हिम पहिरोमा निधन भएका गुरुङको शव बिहीबार साँझ कतार एयरवेजको विमानमार्फत काठमाडौँ ल्याइएको हो।
घटनापछि उद्धार तथा आवश्यक समन्वयका लागि कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान पुगेका थिए। उनी नै गुरुङको पार्थिव शरीर लिएर नेपाल फर्किएका हुन्।
पर्वतारोही गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्सालस्थित नेपाल पर्वतारोहण संघ को सचिवालयमा राखिने कार्यक्रम छ।
त्यसपछि शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी गरिएको जनाइएको छ।

