
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा पाँच जनाको मृत्यु भएको छ। घटनामा आठ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरीको विवरण छ।
पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
पहिरोपछि सम्पर्कविहीन रहेका आठ जनाको पहिचान खुलेको छ। बेपत्ता हुनेमा कमल पुन मगरकी ४० वर्षीया छोरी जुनकुमारी पुन मगर, ९ वर्षीय असीम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर रहेका छन्।
अविरल वर्षाका कारण आएको पहिरोले बस्तीमा रहेका घर तथा गोठ पुरेपछि मानवीय क्षति भएको हो। बेपत्ताको खोजी तथा घटनास्थलको थप विवरण संकलनसम्बन्धी काम भइरहेको छ।

