
सांकेतिक तस्विर
पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिकै पहिरो झरेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दु (इन्ट्री पोइन्ट) भन्दा करिब १०० मिटर उत्तरतर्फ माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको हो।उक्त क्षेत्रमा अहिले पनि माथिबाट निरन्तर पहिरो खसिरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) को कमान्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली घटनास्थलमा खटिएको छ।
सडकमा खसेको पहिरो पन्छाएर बाटो खुलाउनका लागि जेसीबी तयार अवस्थामा राखिएको छ। माथिबाट पहिरो खस्न रोकिए लगत्तै पन्छाउने काम सुरु गरिने प्रहरीले जनाएको छ। पहिरो खसेको स्थान प्रहरी चौकी दोभानबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ ।

