गुजरातमा कोभिड अस्पतालमा आगो लाग्दा आठ सङ्क्रमतिको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित


एजेन्सी । भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसीले उल्लेख गरेको छ ।

अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन् । बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ । एक घण्टामा आगो नियन्त्रण आएको थियो । उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन् ।

आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टीनमा राखिएको छ । राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन । आफूले राज्यका मुख्यमन्त्रीसँग कुरा गरेको बताएका छन । गुजरात मोदीको गृहराज्य हो ।
– बीबीसी